Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रविलाई भेटेपछि बाबुराम भन्छन्- जमानतमा बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ

‘रविलाई पत्रिका समेत पढ्न दिइँदोरहेनछ, पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो’

नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । लुम्बिनी प्रदेशस्तरीय दुई दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन् ।

भेटेपछि उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन । न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन । त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्याे भन्ने मेरो बुझाइ हो ।’

उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भए पनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए । भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकाले भेट्न आएको समेत बताए । उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए ।

जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताए । उनले थपे, ‘मैले टोपबहादुर रायमाझीको पनि कि सांसद पद खारेज गरेर चुनाव गर्नुपर्छ । त्यसैले बढी राजनीतिक ढङ्गले अन्याय हुन हुँदैन ।’ उनले रविलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।

उनले भने, ‘उहाँलाई ल्याएर दिँदो पनि रहेनछ, त्यो त हामी पञ्चायतकालमा बस्दा पनि साथीहरूले ल्याएर दिन्थे, पढ्ने गर्‍यौं । मैले प्रहरीलाई सोधें उहाँहरूले आदेश छैन भन्नु भयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो । राखेको ठाउँ पनि उचित लागेन, माथि सम्बन्धित ठाउँमा पनि भन्छु ।’

रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताए । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।