Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रास्वपालाई तीन ‘अ’ बाट मुक्त हुन कांग्रेस सांसद शर्माको सुझाव

‘रास्वपाका साथीहरुले रविको पालामा मानव तस्करी बढेको भन्न खोज्नु भएको हो ?’

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा विशेष समयमा बोल्दै शर्माले रास्वपालाई त्यस्तो सुझाव दिएका हुन् ।

‘रास्वपाका मित्रहरूलाई तीन ‘अ’ बाट मुक्त हुन् मेरो सुझाव छ,’ शर्माले भने, ‘अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस् ।’ उनले भिजिट भिसामा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

पछिल्लो समय गृहमन्त्री भएका पाँच जनाको एक सय ५० दिनमा भिजिट भिसामा विदेश जानेको तथ्याङ्क प्रस्तुत गर्दै महामन्त्री शर्माले त्यसमा सबैभन्दा बढी लामिछानेको पालामा बिदेशिएको बताएका हुन् । लामिछाने १६४ दिन गृहमन्त्री बनेका थिए ।

रामबहादुर थापाको पालमा १५० दिनमा २ हजार ६२५ जना भिजिट भिसामा बाहिर गएको शर्माले दाबी गरे । यस्तै बालकृष्ण खाँण गृहमन्त्री बनेको समयमा ७९ हजार १२० भिजिट भिसामा गएको उनले बताए । यो संख्या दिनमा सरदर दिनमा ४६० जना हुने उनले बताए ।

त्यसपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेको १५० दिनमा ९४ हजार १८० जना भिजिट भिसामा गएको उनले डाटा पेस गरे । रमेश लेखक गृहमन्त्री बनेपछिको १५० दिनमा एक लाख १२ हजार ९६५ जना अर्थात् दैनिक ७५३ जना भिजिट भिसाको नाममा विदेशिएका छन् ।

सबभन्दा धेरै रवि लामिछाने गृहमन्त्री बनेको १५० दिनमा एक लाख १६ हजार २०५ अर्थात् दैनिक ७७४ जना भिजिट भिसामा विदेशिएका छन् । शर्माले त्यही तथ्याङ्कका प्रस्तुत गर्दै रास्वपालाई प्रश्न सोध्दै भने, ‘तपाईहरूले आफ्नै सभापति गृहमन्त्री भएको बेलामा हामीले भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन । यो मैले भनेको होइन, तथ्याङ्कले त्यही देखाउँछ ।’