Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ शुरु

सरकार धूलो र हिलोरहित सडक बनाउँदै छ : अर्थमन्त्री पौडेल

 नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् । 

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज बिहान उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले सडक पूर्वाधार कनेक्टिभिटीको पहिलो आवश्यकता भएको भन्दै यसलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार धूलो र हिलोरहित सडक पूर्वाधार बनाउन लागि परेको बताएका छन् । उनले सडकको गुणस्तर सुधारका लागि पीसीसी अथवा आरसीसीमध्ये जुन मोडल उपयुक्त हुन्छ सोही अनुसार जाने बताए । 

सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्थरको प्रदर्शनीस्थल बनाउने र यसको लागि बजेट छुट्याइसकेको जानकारी दिए । सरकार अहिले यसको डिजाइन तयारीमा रहेको उनको भनाइ छ । तीन वर्षमा आधुनिक प्रदर्शनीस्थल निर्माण भइसक्ने उनको दाबी छ ।  नाईमा अध्यक्ष ऋतु सिंह वैद्यले सवारी साधनमा सरकारले स्थायी नीति बनाउन आवश्यक रहेको बताइन् । 
 
नाइमा एक्सपो मा  ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् । एक्सपो मा ३५ नयाँ सवारी साधन सार्वजनिक हुने तयारी छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ अर्थमन्त्री पौडेलले उद्घाटन गरेसँगै सुरु भएको छ । भृकुटीमण्डपमा आजबाट सुरु भएको एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाउने आयोजकले बताएको छ ।