Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजेको विषय अत्यन्तै गम्भीर: उपाध्यक्ष शाक्य

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजेको विषय अत्यन्तै गम्भीर रहेको बताएकी छन् ।

आज (मंगलबार) सामाजिक सञ्जलामा लेख्दै उनले यस्तो बताएकी हुन् । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहेकी शाक्यले बहुविवाहको कानुनको चौतर्फी विरोध भइरहेकाले यसलाई तुरुन्तै रोक्नुपर्ने माग गरिन्।

उनले लेखेकी छिन्, ‘मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजेको विषय अत्यन्तै गम्भीर छ । यसको चौतर्फी विरोध भइराखेको छ यसलाई तुरुन्तै रोक्नु पर्छ ।’ शाक्यले महिला, पुरुष समान हुन् भन्ने संविधानको मर्म र भावनालाई सरकारले अक्षरस पालना गर्नुपर्ने भनाइ राखिन् । पितृसत्तात्मक सोचले महिलालाई न्याय दिन नसक्ने समेत उनले बताइन‍् ।

‘महिला, पुरुष समान हुन् भन्ने संविधानको मर्म र भावनालाई सरकारले अक्षरस पालना गर्नुपर्छ । महिलामाथि हिंसा होइन, अपमान होइन ,बहुविवाह होइन समान अवसर र जिम्मेवारी दिएर अगाडि बढाउने सोच बोक्नु पर्छ,’ उनी लेख्छिन्, ‘पितृसत्तात्मक सोचले महिलालाई न्याय दिन सक्दैन ।’