Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरुलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन् ।

सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ हरेक वर्ष धार्मिक पदयात्रा गर्ने गरेको बताए ।

Photo (29).jpg

उनले भने, ‘नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजना हामीले हरेक वर्ष श्रावणको एउटा सोमबार मैतीदेवीबाट पशुपतिनाथ पदयात्रा गर्ने गरेको छ । यसको मूल उद्देश्य भनेको नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने, सरकार र अन्य राजनीतिक दलहरुलाई हिन्दुत्वको पक्षमा जनदबाब सिर्जना गर्ने रहेको छ ।’

यस्तै, उनले हिन्दुत्वको संरक्षणको लागि कार्यक्रमहरु सबैतिर भइरहेको देख्दा र नयाँ जागरण आइरहेको देख्दा खुसी लागेको पनि बताए । सोही क्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल धर्मको केन्द्र भएपनि धर्मको नाममा कहिले पनि लडाइ नभएको भन्दै नेपालमा सबै धर्म एकै ठाँउमा मिलेर बसेको बताए । पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।