Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

एम्बार्क अनम्याथले नेपालमा पहिलोपल्ट स्कूल भित्रै ‘म्याथ म्युसियम’ कार्यक्रम सुरु गरेको छ । यस नयाँ पहलले गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजान्छ । यो कार्यक्रमले विद्यालयहरूलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ जहाँ विद्यार्थीहरूले गणितीय अवधारणाहरूलाई छुन, निर्माण गर्न र त्यससँग अन्तरक्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ ।

कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भन्नुभयोः “हामीले ‘म्याथ म्युसियम’ मार्फत् गणित भनेको पानामा लेखिएका संख्याहरू मात्र नभई यो आकारहरू, कथाहरू, र सम्भावनाहरूको बारेमा हो भनेर देखाउन चाहन्छौं । जब विद्यार्थीहरूले यस विषयलाई बुझेर अन्वेषण गर्न सक्छन्, तब तिनीहरूले जताततै गणित देख्न थाल्छन् । हाम्रो विश्वास छ कि यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगको सम्बन्धलाई नै बदल्नेछ ।”

यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । साथै शिक्षकहरूलाई नयाँ र उपयोगी सिकाउने तरिकाहरू पनि दिन्छ । साथै यसमा सहभागी विद्यालयहरूको पनि महत्वपूर्ण भूमिका छ, जसमार्फत् एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीहरूको क्षमता देख्न सकिन्छ र सामुदायिक कार्यक्रमहरू आयोजना गरी  अन्तरक्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिन्छन् ।

यो कार्यक्रम सकिएपछि पनि एम्बार्क अनम्याथले निरन्तर सहयोग गर्दछ किनकि एम्बार्क अनम्याथ  ‘म्याथ म्युसियम’ जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाई हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने आशा गरेको छ ।