Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

किन थुनिन् थारु आयोगकी सदस्य मोदीले कार्यवाहक अध्यक्ष थारुलाई कार्यकक्षमै?

थारु आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्य कक्षभित्रै थुनेकी छन् । एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा कार्यवाहक अध्यक्षले रोकेपछि विवाद भएको आरोप छ ।

कार्यवाहक अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोकामा चाबी लगाएको फोटो मोदीले आफ्नै फेसबुकमा अपलोड गरेकी छन् । केहीबेरमा प्रहरी पुगेर कार्यालयको ताला भने खोलेको छ । उनी एक घण्टा कार्यकक्षमा थुनिएका थिए । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ ।

आयोगकी सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनु पर्छ भन्‍दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताएका छन् ।

उनले भने, ‘उहाँ (माननीय शान्ति मोदी) एक हप्ताको बिदा लिनु भयो । हामीले दियौं । तर, उहाँ एक महिना बेपत्ता हुनुभयो । हामीले खोजीनीति गर्‍यौं । कुनै सम्पर्कमा आउनु भएन । अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नु भयो । म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइ दिनु भयो ।’