Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रचण्डकै अगाडि किन ‘धुरुधुरु’ रोए माओवादी कार्यकर्ता लामा?

नेकपा (माओवादी केन्द्र) दोलखाका नेता शंकर लामा शहीद परिवार पनि वर्गीय भएको गुनासो गर्दै अध्यक्ष प्रचण्डकै अगाडि मञ्चमै भक्कानिएका छन् । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार २३ औं बोत्ले ‘शहीद दिवस’ कार्यक्रममा लामाले शहीदमाथि पनि बर्गीय विभेद भएको भन्दै रोएका हुन् ।

कार्यक्रममा उनले टाठाबाठा नेताहरूको परिवार मारिँदा हरेक वर्ष सम्झिरहने तर सर्वसाधारण जनता शहीद हुँदा वास्ता नगरिएकोमा माओवादी नेताहरू समक्ष गुनासो पोखे । ‘टाठोबाटा नेताहरूको परिवार भयो भने हरेक वर्ष सम्झिन्छन् । साधारण परिवारबाट शहीद भएकोमा त्यसको वास्ता छैन । शहीद पनि वर्गीय हुन थाल्यो । देशैभरिका देशैभरका शहीदहरूको यस्तो डकुमेन्ट बनोस् अनि शहीदका परिवारको पनि अलिअलि मन शान्त हुन्छ कि । घाइतेहरूको पनि अलिअलि मन शान्त हुन्छ कि, त्यो भएपछि पार्टी पनि अलिअलि सुदृढ हुन्छ कि भनेर झकझक्याउन यो कार्यक्रम राखेका हौँ’, उनले भने ।

लामाले गुनासो पोखिँरहँदा मञ्चमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा, उपमहासचिव मातृका यादव, बागमती प्रदेशका इन्चार्ज तथा सचिव हितमान शाक्य, सचिव गंगानारायण श्रेष्ठ लगायत नेताहरू थिए । उनले पार्टीभित्र गुट, उपगुट बढ्दै गएकोप्रति सहिद परिवार पिरोलिएको बताए ।

२०५९ साल साउन १८ गते दोलखाको शैलुङस्थित बोत्लेमा तत्कालीन शाही सुरक्षाकर्मीले १५ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो । सोही हत्याकाण्डमा लामाकी श्रीमती पनि मारिएकी थिइन् । परिवर्तनका लागि लडेको शक्ति माओवादी हत्यारा हुने अनि ती शक्तिलाई हत्या गर्ने नायक हुने भनिएकोमा उनले आक्रोश पोखे ।