सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा उपस्थित सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख माननीय डा. राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको हुँदा विपद् सम्बन्धी सचेतना कार्यक्रमहरुलाई बिशेष जोड दिनुपर्ने तथा क्षति न्यूनिकरण कसरी गर्ने भन्ने कुरामा पूर्व तयारी जरुरी रहेको बताए । उनले सशस्त्र प्रहरी बल नेपालले विद्यालयस्तरमा संचालन गरेको सचेतनामूलक तालिम प्रभावकारी रहेको समेत बताए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च साहसले आम जनतामा सशस्त्र प्रहरी बलको उच्च मूल्यांकन रहेको बताउदै विपद् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक पार्टीहरुको संयुक्त प्रयासमा जोड दिए ।
सोही क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायलाई समेत सचेत तथा सहभागी गराउँदा विपद् जोखिम न्यूनिकरण प्रभावकारी हुने उल्लेख गरे ।
उनले समुदायसँगको समन्वय तथा सहकार्यमा विपद् जोखिम न्यूनिकरण गर्न सकिने बताउदै विपद्बाट हुने धनजनको क्षति कम गर्न राजनैतिक दलको भूमिका समेत समुदायस्तरमा महत्वपूर्ण हुने चर्चा गर्नुहुंदै नेपाल सरकारबाट बिपद् उद्धारमा सुरक्षा निकायलाई प्राप्त साथ र सहयोगले नै जोखिम न्यूनिकरणमा अझ प्रभावकारी कार्य हुँदै आएको बताए ।
कार्यक्रममा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समेत समन्वय गरेर विपद् व्यवस्थापन कार्य गरिरहेको बताउनुहुँदै समुदायलाई सचेत गराउने कार्यमा राजनीतिक दलसँगको समन्वय सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।
यसैगरी नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङ्गले विपद् न्यूनिकरणको लागि समुदायस्तरमा दिइने स्वयंसेवक तालिम प्रभावकारी हुने, स्थानीय तहमा साना दराजमा विपद्का प्राथमिक सामाग्री राख्न जरुरी रहेको तथा प्रत्येक वडामा कम्तीमा १ सय जना जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनको सूचना आदान प्रदान गरी सहकार्य र समन्वयका साथ कार्य गर्न आवश्यक रहेको र यसका लागि आफ्नो पार्टीबाट विपद् व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने समेत बताए ।
नेकपा एमालेका वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपद्मा पूर्व सूचना महत्वपूर्ण हुने भएकोले पूर्व जानकारी दिन सकेमा जनधनको क्षति न्यूनिकरण गर्न सकिने बताए । पूर्व सूचनामा केन्द्रित हुन जरुरी रहेको बताउदै उनले विपद्पछि उद्धार कार्यमा पहिलो उद्धारक स्थानीय व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने हुँदा स्थानीयस्तरमा स्वयंसेवक उत्पादनको लागि सशस्त्र प्रहरी बल नेपालले गरेको कार्य स्वागत योग्य रहेको तथा विपद्मा सशस्त्र प्रहरी बल नेपाल पुगेपछि जनताले सुरक्षित महशुस गर्ने गरेको साथै जनतालाई जागृत र सचेत गराउन राजनैतिक दलको भूमिका पनि महत्वपूर्ण हुने कुरामा जोड दिए । यसैगरी विपद् व्यवस्थापनको नीति निर्माण कार्यमा सरकारलाई पनि जागृत गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने र श्रोतसाधनको कमीमा सचेत हुन आवश्यक रहेको तथा विपद्मा खटिने जनशक्तिको जीवन बिमा र स्वास्थ्य बिमा जरुरी समेत रहेको बताए ।
नेकपा माओवादी केन्द्रका वातावरण विभागका नारायण काफ्लेले विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा रोकथामको लागि स्थानीय संरचना बलियो बनाउन जरुरी रहेकोमा जोड दिदै सुरक्षाकर्मीलाई थप आवश्यक उपकरण उपलब्ध गराई उच्च मनोवलकासाथ अझ प्रभावकारी परिचालन गर्न सकिने बताए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठले सिमित श्रोतसाधनका वावजुद सशस्त्र प्रहरी बलले गरेको उद्धार कार्य प्रशंसनिय रहेको बताउदै विपद्को समयमा सुरक्षा निकायसँग समन्वय गरी आम जनताको उद्धार तथा राहतमा खटिन राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको बताए ।
कार्यक्रममा जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले न्यूनतम श्रोतसाधनका वावजुद पनि उच्च मनोवलले उद्धार कार्य प्रभावकारी हुनेमा जोड दिदै प्रविधिको प्रयोग गरी विपद् पूर्व सूचना प्राप्त गर्न सकेमा विपद् व्यवस्थापन प्रभावकारी हुने बताए । यसकासाथै विपद् व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय सरकारसँगको समन्वय र सहकार्य पनि उत्तिकै जरुरी रहेको र विकास निर्माणको कार्यले विपद् नआओस् भन्नेतर्फ सचेत रहन जरुरी रहेको बताए ।
कार्यक्रममा जसपा नेपालका माधवप्रसाद देवले प्राकृतिक प्रकोप घटना न्यूनिकरणको लागि नीतिगत सुधारको जरुरी रहेको बताउदै अव्यवस्थित विकास निर्माणलाई व्यवस्थित गर्नुपर्ने र मानवीय विकासले समेत विनाश निम्त्याएकोतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे ।
लोकतान्त्रीक समाजवादी पार्टीका वातावरण विभागका प्रमुख लक्ष्मणलाल कर्णले हिमालमा हिम पहिरो, पहाडमा पहिरो तथा बाढी र मधेशमा सुख्खा तथा खानेपानीको अभाव जस्ता ठाउँ अनुसारका विपद् आईपर्ने भएकोले त्यही किसिमको तयारी जरुरी रहेको बताए । मधेशमा बाढी र आगलागीका घटना बढी हुने गरेको तथा उपलब्ध दमकलहरु शहर केन्द्रित रहेको हुँदा स्थानिय तहमा दमकलको व्यवस्थापन हुन जरुरी रहेको बताए ।
अन्तरक्रियामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल नेपालको क्षमता, हाल उपलब्ध साधनश्रोत, जनशक्ति तथा विभिन्न घटनामा गरिएका उद्धार बारेमा प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी सोही अवसरमा राजनीतिक दलका प्रतिनिधिहरुले सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारमा प्रयोग गरिरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन तथा त्यस सम्बन्धी जानकारी लिएका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका विशेष गरी वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी विभागका प्रमुख तथा प्रतिनिधिहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल र गणेश बहादुर ठाडामगर लगायत उच्च अधिकृतहरुको उपस्थिती रहेको थियो ।