Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

झलनाथबारे माधवको टिप्पणीः खुरुक्क पार्टीबाट बिदा लिएर हिंडे हुन्छ

‘पार्टीको निर्णय नमान्नेमा खनाल नम्बर वान’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले खुुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन् । आज (शुक्रबार) विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नु भएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।

उनले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकाले उनको भनाइको अर्थ नरहेको बताए । पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल १ नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए । उनले भने, ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।’

उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए । एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे ।

अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । एकीकरणको कुरा भएको ? यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ । दुई पाटी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।’

उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने, ‘एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ ।’ उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू माथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए । उनले भने, ‘मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्याविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ ।