जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित चार जना उच्च अदालत पाटन पुगेका छन् । उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ ।
चैत १५ गते भएको तीनकुने घटनामा थुनामा रहेका प्रसाईंसहित सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन् । उनीहरूले पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गरेका छन् ।
त्यस्तै उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूविरूद्ध निवेदन दिएको छ । दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो । काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
दुर्गा प्रसाईमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो । प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजकको रिपोर्टिङको क्रममा आगलागीबाट मृत्यु भएको थियो । त्यस्तै प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो ।