Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

थुना आदेश बदर माग गर्दै उच्च अदालतमा दुर्गा प्रसाईं

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित चार जना उच्च अदालत पाटन पुगेका छन् । उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ ।

चैत १५ गते भएको तीनकुने घटनामा थुनामा रहेका प्रसाईंसहित सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन् । उनीहरूले पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गरेका छन् ।

त्यस्तै उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूविरूद्ध निवेदन दिएको छ । दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो । काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

दुर्गा प्रसाईमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो । प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजकको रिपोर्टिङको क्रममा आगलागीबाट मृत्यु भएको थियो । त्यस्तै प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो ।