शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारले जिरो नम्बर दिए पनि, जनताले सयमा सय दिएका छन्: कुलमान घिसिङ

सरकारले जिरो नम्बर दिए पनि, जनताले सयमा सय दिएका छन्: कुलमान घिसिङ

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • सरकारले जिरो नम्बर दिए पनि, जनताले सयमा सय दिएका छन्: कुलमान घिसिङ

    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वर्तमान सरकारले आफ्नो कार्य सम्पादनलाई ‘जिरो’ नम्बर दिए पनि जनताले सयमा सय नै दिएको बताएका छन् ।

    ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका पुगेका कुलमान घिसिङले अमेरिकाको बोस्टनमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारले तीन महिनाअघि आफूलाई बर्खास्त गरेपछि अहिले ‘उज्यालो अभियान’ लिएर हिंडिरहेको बताए । उनले ३० वर्ष प्राधिकरणको विभिन्न पदमा रहेर काम गरेको बताएका छन् ।

    आफू र आफ्नो टिमले केहि रिजल्ट दिने कामहरु गरेको उनले बताए । उनले काम गरिरहेकै बेला सरकारले धेरै पटक स्पष्टिकरण सोधेर बर्खास्त गरेको उनले बताए । आफ्नो विगत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सरकारले जिरो नम्बर दिएको उनले बताए । उनले भने, ‘सरकारले मलाई तपाईले गरेको कार्यसम्पादन जिरो भन्यो । तर जनताले त सयमा सय नम्बर दिएको जस्तो लाग्छ मलाई ।’ उनले भने, ‘जनताले दिएको नम्बरका कारण सरकारले बर्खास्त गरे पनि म खुशी नै छु ।’

    प्राधिकरणमा रहँदा तराई क्षेत्रमा लोडसेडिङ रहेको र त्यो आफूहरुले अन्त्य गर्न सफल भएको उनले बताए । जहाँ गाउँ–गाउँमा बत्ती पुगेको थिएन, त्यहाँ बत्ती पुर्‍याउनु महत्वपूर्ण काम हो भनेर आफूहरु लागेको र त्यसमा सफल भएको उनले बताए । अहिले ७० प्रतिशत बढी गाउँमा बत्ती पुगेको उनले बताए । अहिले केहि विकट ठाउँ बाहेक सबै ठाउँमा बिजुली पुर्‍याएको उनले जानकारी गराए ।

    आफू बर्खास्त भएको दिन आफू चेपाङ बस्तीमा बिजुली बाल्ने काममा रहेको जानकारी गराउँदै पूर्व कार्यकारी निर्देशक घिसिङले भने, ‘चेपाङ बस्तीमा बिजुली बालेर फर्किदा सरकारले मलाई बर्खास्त गरिसकेको थियो ।’ यी सबै घटनाबारे जनता जानकार रहेको बताउँदै उनले प्राधिकरणलाई घाटाको अवस्थाबाट नाफामा ल्याएको बताए ।

    विगत चार बर्षको अवधिमा करिब ८० अर्बको फण्ड तयार गर्न सफल भएको उनले बताए । त्यहि लगानीबाट प्राधिकरणलाई एउटा राम्रो संस्थाको रुपमा विकास गर्न सफल भएको उनले बताए । उनले नेपालबाट भारत हुँदै बंगलादेशसम्म विद्युत निर्यात हुन्छ भन्ने नसोचेको समेत बताए ।

    उनले भने, ‘गत साल बर्षको पाँच महिनाको बर्खा याममा मात्र विद्युत निर्यात गर्‍यौ हामीले ।’ बंगलादेशमा विद्युत निर्यात सुरु भएर बढ्दै गएको बताए । आफ्नो कार्यकालमा विद्युत क्षेत्रमा धेरै सुधार भएको बताए । उनले भने, ‘सबै भन्दा ठूलो कुरा विद्युत चुहावट धेरै थियो, त्यसलाई धेरै सुधार गर्‍यौं ।’

    अहिले आफू हटेको चार महिनामा धेरै गुनासा, लोडसेडिङकै अवस्था र नाफाको सट्टा घाटामा गयो भन्ने बाहिर हल्लाहरु आइरहेको उनले बताए । उनले यसमा व्यवस्थापनको विषय धेरै नै महत्वपूर्ण हुन्छ भन्ने आफूलाई लाग्ने गरेको बताए ।

    व्यवस्थापन महत्वपूर्ण विषय भएको बताउँदै भने, ‘कुन व्यक्तिलाई कुन ठाउँमा राख्दा ठिक हुन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ ।’ तलदेखि माथिसम्म ‘राईट म्यान, राइट प्लेस’ भयो भने उपलब्धी हात पार्न सकिने उनले बताए ।

    प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ अहिले अमेरिका र युरोप यात्रामा निस्केका छन् । उनको यो यात्रा एक महिनासम्म चल्नेछ । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहने छन् । जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहने छन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहने छन् । अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहने छन् ।

    त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा पनि पुग्ने छन् । उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ । उनले एक महिने यो यात्रामा विभिन्न कार्यक्रम, अन्तरक्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने कार्यक्रम तय गरेका छन् ।

    यसअघि घिसिङ बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेर फर्केका थिए । घिसिङको वैदेशिक भ्रमण र त्यहाँ रहेका नेपालीहरूसँगको अन्तरक्रियाले उनी राजनीतिमा आउन खोजिरहेको संकेत दिएको उनी निकटहरू बताउँछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार