Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रास्वपाप्रति प्रधानमन्त्रीको कटाक्ष: हस्ताक्षर तीन करोड  बढी पुग्ला नि !’

‘ठगी गर्ने बेला आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् ।

आज (मंगलबार) कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाले तीन करोड बढी हस्ताक्षर पुर्‍याउने हो कि भनेर डर लागेको भन्दै कटाक्ष गरेका छन् ।

‘विभिन्न प्रकारका अपराध गर्‍यो अनि सरकारलाई गाली गर्‍यो। सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध ! केको प्रतिशोध ? तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोड माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला । दुई–चार जनालाई सही गरायो, घरमा गएर दनादन..!,’ उनले भने ।

उनले सभापति रवि लामिछानेको नाम नलिई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए । राजनीतिमा पनि आफूले नै ल्याएको दाबी गरे । ‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध ? के साँध्नु थियो ? असभ्य ढंगले बोलेको छ !,’ उनले भने ।

‘विभिन्न किसिमका अपराध गर्‍याे अनि सरकारलाई गाली गर्‍यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’, उनले प्रश्न गरेका छन् ।

उनले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा तर मारेको टिप्पणी गरे ।

‘तर माराहरू, व्यवस्था विरोधी तरमाराहरू । तसर्थ भ्रममा नपरिकन, हाम्रो देश हामीले विकास गर्नुपर्छ,’ उनले भने, ‘स्ट्याटस लेख्न पाए भयो । एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो । हाम्रो सभ्यता, सामाजिक सभ्यता, सामाजिक मर्यादा, सामाजिक संस्कृति, यसमाथि ख्याल नगरेर, यसमाथि धावा बोल्न पाए भयो । झूट र भ्रम फिँजाउन पाए भयो । हामी त्यस्ता कुरामा ध्यान दिँदैनौं ।’