Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिन्धुली घटना: यी हुन् आमा उर्मिलासहित बेपत्ता एकै परिवारका १६ जना (सूचीसहित)

तीन वर्षअघि हराएका थिए उर्मिलाका श्रीमान, जंगलमा भेटिएको थियो हाडखोर

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना एकाएक गाउँबाट बेपत्ता भएपछि खोजी तीब्र बनाइएको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले बताए ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नातिनी र एक जना ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।

यस्तै छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलिसकेको छैन । उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सामा केहि दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षति नभएको प्रहरीको भनाई छ । घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा खोजी गर्दा उनीहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तीन वर्षअघि हराएका थिए उर्मिलाका श्रीमान, जंगलमा भेटिएको थियो हाडखोर
सिन्धुलीको गोलन्जर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको मुख्य सदस्य पनि तीन वर्षअघि बेपत्ता भएको पाइएको छ । परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले जानकारी दिएका छन् ।

खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर नजिकैको जंगलमा भेटिएको स्थानीय शिक्षक सुमन कोइरालाले जानकारी दिए । हायू परिवारले वडा कार्यालयबाट एकै पटक तीन महिनाको सीमान्तीकृत भत्ता बुझेको पाइएको पनि कोइरालाले बताए ।

‘साउन लागेपछि सीमान्तीकृत भत्तासम्बन्धी कार्ड नवीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि वडा कार्यालय गएका उनीहरुले यी १६ जनासहित बाहिर भएका दुई जनाको समेत भत्ता लिएको खुलेको छ,’ उनले भने । उनीहरुले तीन महिनाको भत्ता करिब दुई लाख १६ हजार एकै पटक बुझेको पाइएको उनले जानकारी दिए । सम्पर्कविहीन हुनुअघि उनीहरुले सुँगुर काटेर भोज खाएको समेत पाइएको छ ।