Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

युट्युब हेरेर कौसीमा ड्रागन खेती गरेकी सीताले कमाउँछिन् वार्षिक आठ लाख रुपैयाँ

नवलपुरको कावासोती–९ की सीता जिसी राउतले कौसीमा ड्रागन खेती गरेर वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् ।

तीनवटा बिरुवाबाट कौसीमा सुरुवात गरेको खेती सीताले हाल १३५ वटा गमलामा विस्तार गरेकी छिन् ।  उनले बारीमा ४२४ वटा बोट रोपेकी छिन् । घरमै खान भनेर चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको छ । 

‘युट्युब’बाट हेरेर प्रभावित भएर उनले कौसीमा ड्रागन फल खेती सुरुवात गरेकी थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीनवटा बिरुवा दुई हजार एक सय रुपैयाँमा पनौतीबाट ल्याएर लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा २५ हजार रुपैयाँ लगानी लागेको उनले बताइन् ।  उनले फल मात्र होइन, बिरुवा पनि बिक्री गरेर आम्दानी गर्दै आएकी छिन् ।

'मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो । बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरै जना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ,' उनले भनिन् ।

गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकोमा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छिन् । असार महिनामा मात्रै साढे तीन क्विन्टल ड्रागन फल बिक्री गरिसकेको उनले बताइन् । बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य शहरहरू नारायणगढ, काठमाडौंदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छिन् ।

पानीट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने भएकाले कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहोर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।