चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ।
ऐतिहासिक, सांस्कृतिक महत्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णाेद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिए।
हाल वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तल-पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णाेद्धार, पुनर्निर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन्। बालबालिकालाई रमाउन-खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन्। विशेष गरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ।
नगर प्रमुख गिरीले भने, ‘ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनःनिर्माण, जीर्णाेद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणहरुलाई द्रुत रुपमा नगरपालिकाले अगाडि बढाइरहेको छ। यसका लागि पहिलो चरणमा समपूरक अनुदान रु तीन करोडभन्दा बढीको लागतमा काम भइराखेको छ।
बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप रु तीन करोड रकमको सुनिश्चितता भएको छ। यसबाट पार्कको संरक्षण र संवर्द्धन हुनेछ।’ नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णाेद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उनले जानकारी दिए।
त्रिभुवन पार्कको संरक्षणमा संघीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।
यसैबीच नगर प्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनर्निर्माण, जीर्णाेद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणको हालै अनुगमन गर्दै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गरे। उनले भने, ‘यो काम नगरपालिका र मेरो व्यक्तिगत प्रतिष्ठासित पनि गाँसिएका हुँदा निर्धारित समयभित्र गुणस्तरीय काम गरेर पार्कमा घुम्न आउनेलाई आहा ! पार्क हुनु त यस्तो पो बनाउनु पर्छ।’
तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो। केशवशम्शेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं २०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क सुरुआतका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो।
पार्कको चहलपहल बढ्न थालेपछि समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो। पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिर समेत रहेको छ। विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले त्रिभुवनकोे सालिक पोखरी नजिकै छेउमा ढलाएको थियो। धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएको थियो। विसं २०३०/३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गरेका थिए।