Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भैंसेपाटी मन्त्री क्वार्टर पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वार्टरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ । प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गरेकी हुन् ।

उनले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहे पनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाइन् । सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाइन् ।

उनले भनिन्, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरू वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो । जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वार्टरमा अब फेरि ठूलो आगन किन चाहियो ? त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’

सांसद कार्कीले सरकारको जनआकांक्षा विपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उनको भनाइ छ । दुई महिनादेखि आफूहरू आन्दोलनमा रहे पनि सरकारले संसद्लाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको उनले टिप्पणी गरिन् ।