Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

ज्येष्ठ राष्ट्रिय नागरिक महासंघले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासंघका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

महासंघले सार्वजनिक यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था, राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेलगायतका माग राखेका छन् ।

दुई हजार ५०० भन्दाबढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेका जनाउँदै नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित बनाइएको भन्दै समस्या समाधानका लागि नेतृत्व लिइदिन महासंघले अध्यक्ष दाहालसँग अनुरोध गरेको छ । महासंघका मागलाई गम्भीरतापूर्वक लिएको बताउँदै अध्यक्ष दाहालले ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

‘तपाईहरूले उठाएका माग न्यायसंगत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागलाई कार्यान्वयन गर्ने सम्बन्धमा माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ’, उनले भने । यसैबीच अध्यक्ष दाहालसँग आजै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको टोलीले खुमलटार भेट गरी एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अगाडि नबढेको भन्दै पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिनिधिले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षणलगायत प्रारम्भिक काम सम्पन्न हुनुका साथै पालिकाको पहलमा जग्गा हस्तान्तरण भइसकेको जानकारी गराए । प्रारम्भिक चरणमा बजेट विनियोजन, बोलपत्र आह्वान प्रक्रिया सम्पन्न भए पनि पछिल्लो समय आयोजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे ।

अध्यक्ष दाहालले उक्त टोलीका प्रतिनिधिलाई माओवादी केन्द्रको तर्फबाट आयोजना अगाडि बढाउन सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।