Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चार करोड बढीको भ्रष्टाचारमा मुछिएका अधिकारीलाई ५० हजार धरौटी

भ्रष्टाचारमा मुछिएका काठमाडौं महानगरपालिकाका निर्देशक डा.शिवराज अधिकारीलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

सामाखुसी कोरिडोर अन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको मुद्दामा मुछिएका अधिकारीलाई विशेष अदालतले मंगलबार ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

उक्त मुद्दामा मुछिएका अधिकारी मंगलवार अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहसपछि न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार मङ्गलवार उक्त मुद्दामा प्रतिवादी बनाइएका ७ जनाकै बयान तथा थुनछेक बहस सकिएको छ ।

अब यही साउन १८ गतेदेखि मात्रै विशेष अदालतमा पेसी तोकिने भएकाले त्यसपछि उक्त मुद्दाको पेसी तोकिने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जना विरुद्ध गत जेठ २८ मा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।