Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष ढकालद्धारा पदभार ग्रहण

नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBBL) को सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका हुन् ।

ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुन् ।

नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैँकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले अहिले ३ सय ९ वटा शाखा कार्यालयहरु मर्फत ७७ वटै जिल्लामा करिव ४७ लाख भन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैंक आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको छ ।