नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । महासंघले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गरिने जनाएको छ ।
गत वैशाख १७ गतेको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले विधेयक पारितका लागि अल्टिमेटम दिएको हो ।पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार आफैं पछि हटेको र समय सीमा सकिएको दुई सातासम्म पनि शिक्षकहरुलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको दबताएको छ ।
साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नहुने उनीहरुको भनाइ छ । सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको बताउँदै उनीहरुले शिक्षकहरुलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे ।
सहमतिअनुसार, अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया, स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसीडीका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकारलगायतका विषयमा अहिले षडयन्त्र भइरहेको उनीहरुको दाबी छ ।
लिखित सहमति कार्यान्वयनमा पनि गम्भीर नदेखिनु सरकारको लाचारीपन भएको बताउँदै शिक्षक महासंघले आन्दोलन गर्नुको विकल्प नहुने बताएको हो ।