Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मालपोत अधिकृत फिर्ता गराउन आएका थिए, नमानेपछि मेरो चरित्र हत्या गरियो: मन्त्री अधिकारी

‘अडियोमा आफूले पैसा मागेको कुरा फेला पारे जस्तोसुकै सजाय भोग्न तयार छु’

भूमिसुधार मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा फिर्ता गर्न आएका व्यक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि अडियो काण्ड सार्वजनिक गरेको बताएका छन् । तर पनि उनले आफ्ना बारेमा सार्वजनिक भएको अडियोमा आफूले पैसा मागेको कुरा फेला पारे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् ।

‘मालपोत अधिकृत सरुवा भएपछि रोक्न आएका थिए, सरुवा भएका व्यक्तिलाई रोक्ने कुरा पनि भएन । अधिकृत आएर सरुवा हुन्छु पनि भन्नु भएको छैन । अहिले मसँग मात्रै नभएको मेरो छोरासँग पनि जोडेर आएको छ । यसमा सत्यता छैन ।’ अधिकारीले तथ्यलाई बंग्याएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्वार्थ समूहले गलत प्रचार गरेको दाबी गरे ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडियोबारे प्रष्टीकरण दिंदै अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे । उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे ।

उनले भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन् । मेरो आवाज मैले मागेको कुरा भनेको कुरा गर्दिन्छु भन्ने कुरा फेला पार्नु भयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु ।’ अधिकारीले भने, ‘केही दिनयता मसँग जोडिएको केही कुरा आएको छ । मसँग जोडेर अडियो आएको भनिएको छ । उक्त अडियोमा आएका व्यक्तिहरू मसँग र मेरो मन्त्रालयसँग सम्बन्धित छैन । मन्त्री मात्रै भनेर होइन यसमा मेरो छोरालाई पनि जोडियो । मेरो छोराको यिनीहरूसँग भेटेकै छैन ।’