उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ ।
जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । योसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ । राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद रहेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिएपछि अब सरकारको पक्षमा केवल २८ सांसद रहेका छन् । बहुमतका लागि आवश्यक ३० सांसदभन्दा २ सिट कम रहेको छ ।
राष्ट्रिय सभामा कांग्रेसका १६, नेकपा एमालेका १० सांसद रहेका छन् । त्यस्तै हाल सरकारमा रहेको लोसपाको राष्ट्रिय सभामा एक सिट रहेको छ भने राष्ट्रपतिबाट मनोनित सरकारको पक्षमा एक सांसद रहेका छन् । मनोनित तीन मध्ये एक राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल माओवादी केन्द्रका हुन् भने बामदेव गौतम एकीकृत समाजवादीमा जाने निश्चित भएको छ ।
यसरी सरकारको पक्षमा राष्ट्रिय सभामा २८ मत भएको छ । त्यसैगरी राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो दल हो । जसका १७ सांसद रहेका छन् भने एकीकृत समाजवादीका ८ सांसद रहेका छन् । त्यस्तै जसपा नेपालका ३ र जनमोर्चाका एक सांसद रहेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदै केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न नसकेका ११ काम सार्वजनिक गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतले भनेका छन्- 'जनता समाजवादी पार्टी ( जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।'
जसपा नेपालको नेपाल संसदीय दलको बैठक वर्तमान सरकारको हालसम्मको कार्यको निम्नानुसार समिक्षा गरी निर्णय गरेको छ ।
१- जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
२- भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।
३- मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२÷८३ को बजेट ल्याउने कार्य गर्नु ।
४- संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।
५- कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।
६- स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।
७- समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
८- मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।
९- संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।
१०- कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।
११- वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।
जसपा नेपालले ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अबदखि बिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिएको छ ।