Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

‘स्पेनमा मानव तस्करी काण्ड’ खुलासा गर्ने पत्रकार देउजालाई धम्की

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागी संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौंथो अन्तर्राष्ट्रिय सम्मेलन’ को बहानामा केही असम्बन्धित व्यक्ति स्पेन पुगेको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजालाई धम्की दिइएको भन्दै प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव समेत रहेका पत्रकार देउजाले अडियोसहित स्पेनमा भएको भनिएको मानव तस्करी प्रकरण कपुरबोट मिडियामार्फत सार्वजनिक गरेका थिए । सो समाचार सार्वजनिक भएपछि सरकार पक्षका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देउजामाथि धम्की दिने, डर त्रास फैलाउने र चरित्र हत्या गर्ने गतिविधि गरिरहेको प्रेस सेन्टरले जनाएको छ ।

प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि संविधानद्वारा प्रत्याभूत प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै घोर भत्र्सना गरेका छन् । ‘समाचार सार्वजनिक गरेको भन्दै पत्रकारलाई लक्षित गरी भइरहेको धम्की, दुष्प्रचार र मानसिक दबाब प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सचिव देउजाको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउँछौं ।’