बाढी, पहिरोको विपदले दुःख दिइरहने मेची राजगमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पेनस्टक पाइपमार्फत डाइभर्सन गरी वर्षाभर यातायात सञ्चालन गरिने भएको छ । सडक डिभिजन इलामले ३.५ मिटर उचाइ भएको एकथान र २.२ मिटर उचाइका ३ थान गरी जम्मा ४ थान पेनस्टक पाइपमार्फत पानी कटाएर सवारी र ढुवानीका साधनलाई खोला वारपार गराउने तयारी गरेको हो । तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज जडानकै क्रममा भाँचिएपछि विकल्पमा पेनस्टक पाइपबाट डाइभर्सन गरिएको हो ।
पेनस्टक राखेर बनाइएको डाइभर्सनबाट आइतबारदेखि सवारी आवागमन गराउने तयारी छ । चारवटा पाइपबाट प्रति सेकेन्ड ७८ घनमिटरका दरले पानी सहजै पार हुने डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिएका छन् । पुल नभएर सवारी आवागमन अनिश्चित हुँदा ताप्लेजुङ र पाँचथरको याङवरक हिलिहाङ र फालेलुङ गाउँ पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएपछि यस्तो विकल्प खोजिएको हो । यहाँ राख्ने पेनस्टक पाइप ताप्लेजुङका तीनवटा हाइड्रो पावरले उपलब्ध गराएका हुन् ।
‘ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको विशेष समन्वयमा हाइड्रो पावर सञ्चालकहरुबाट पेनस्टक पाइप उपलब्ध भएसँगै स्ट्र्रक्चर निर्माणको काम सुरु गरिएको हो,’ डिभिजन प्रमुख भट्टराईले भने । भट्टराईका अनुसार यो विधिबाट डाइभर्सन गर्न करिब पाँच लाख रुपैयाँ खर्च भएको छ । पेनस्टकबाट ठूलो परिमाणमा पानी कट्ने भएकाले ठूल्ठूला ढुंगामुढा बगेर नआएसम्म समस्या झेल्नु नपर्ने प्राविधिकहरुको अनुमान छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सीमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलो पटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रो पटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि यस्तो विकल्प खोजिएको हो ।