Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बाढीले मितेरी पुल बगाएपछि कैलाश मानसरोवर जाने यात्रु समस्यामा

पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) ले नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार विज्ञप्ति जारी गरी गत मङ्गलबार बिहान लेहेन्दे खोलामा आएको बाढीले पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताएका हुन् ।

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली तथा विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट वञ्चित हुनुपरेको भन्दै चीन सरकासँग तत्काल कूटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायत नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा राहदानी उपलब्ध गराउन गराउन समेत सरकासँग माग गरे । उनले नेपालस्थित चिनियाँ राजदूतावासँग कूटनीतिक पहल गरी भिसा प्रकृयालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौंमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउन पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे ।