टेक कम्पनी एनभीडिया ४ ट्रिलियन डलरको बजार मूल्य छुने विश्वको पहिलो कम्पनी बनेको छ ।
बुधबार, चिप बनाउने कम्पनीको सेयर २.४ प्रतिशतले बढेर यसको मूल्य १६४.४२ डलर सम्म पुग्यो र कम्पनिको बजार मुल्य पहिलो पटक ४ ट्रिलियन डलर पुग्यो । तर यो धेरै बेर भने टिक्न सकेन । बुधबारको बजार बन्द हुदा एनभिडियाको सेयर १.८ प्रतिशतले बढ्यो र कम्पनिको बजार मुल्य ३.९७ ट्रिलियन डलर रहयो ।
यद्यपि एनभिडिया हाल एप्पल र माइक्रोसफ्ट जस्ता कम्पनिलाई उछिनेर विश्वको सबै भन्दा बढी बजार मुल्य भएको कम्पनि रहेको छ ।
कम्पनीले एआई प्रविधिको बढ्दो मागबाट निरन्तर लाभ उठाइरहेको छ । यो अमेरिकी कम्पनीले जुन २०२३ मा पहिलो पटक १ ट्रिलियन डलरको बजार मूल्य छोएको थियो र त्यसबेलादेखि निरन्तर बढिरहेको छ । कम्पनिले २०२४ को फेब्रुअरीमा २ ट्रिलियन डलर र २०२४ को जुनमा ३ ट्रिलियन डलरको बेन्च मार्क पुरा गरेको थियो ।
प्राविधिक विश्लेषकहरुले यो एनभिडियाको लागि एक ऐतिहासिक क्षण भएको र हाल एनभिडिया एक मात्र कम्पनी हो जसको चिप्स नयाँ सुन र तेल बनेको विश्लेषण गरिरहेका छन् ।
गत अप्रिलमा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी बजारमा अशान्ति निम्त्याएपछि एनभिडियाको सेयर घटेको थियो ।
आठ वर्ष अघि, एनभिडियाको सेयर मूल्य यसको हालको मूल्यको एक प्रतिशत भन्दा कम थियो । त्यतिबेला कम्पनीको वृद्धि प्रतिद्वन्द्वी एएमडीसँग ग्राफिक्स कार्ड बनाउन प्रतिस्पर्धाद्वारा संचालित थियो । तर हालैका वर्षहरूमा एनभिडियाको द्रुत वृद्धि च्याटजिपिटी जस्ता जेनेरेटिभ एआई मोडेलहरूको लागि चिप्सको मागले प्रेरित भएको छ ।
हाल माइक्रोसफ्ट ३.७५ ट्रिलियन डलर बजार मुल्यसहित दोस्रो ठुलो कम्पनि रहेको छ ।