Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ।भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले लोकान्तरलाई जानकारी दिए । घटना राति सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । राईलाई अहिले भोजपुर अस्पताल ल्याइएको र रेफरको तयारी भइरहेको उनले बताए ।

स्थानीयले प्रहरीलाई बताए अनुसार मनिषा चार/पाँच दिनअघि माइती पुगेकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो । ‘विवाद के थियो भन्ने खुलिसकेको छैन । चार जनाको शव फेला परेको छ । राजेन्द्र स्वयं पनि गम्भीर घाइते भएकाले धेरै कुरा खुल्न बाँकी छ’, प्रहरी निरीक्षक यादवले भने, ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’ घटनाको जानकारी पाउने बित्तिकै इप्रका बोयाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो । घटना सवा १ बजेतिर भएको भनिए पनि प्रहरी राति अबेर मात्र खबर आएको थियो ।