भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा कलाकारहरूले बलियो साथ दिंदै धमाधम हस्ताक्षर गरिरहेका छन् । (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियान अहिले जारी छ ।
आज (शुक्रबार) पनि कलाकार तथा निर्माता–निर्देशकहरू घडीघर वनस्थली पुगेर हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेहरूमा कलाकालहरू रामचन्द्र अधिकारी, राजाराम पौडेल, खेम सेन्चुरी, खगेन्द्र लामिछाने, अशोक शर्मा, दीपेन्द्र के खनाललगायत छन् ।
रमेश उप्रेती, विपिन अधिकारीलगायतले यसअघि नै हस्ताक्षर गरिसकेका छन् । आज नागपोखरीस्थित एउटा रेस्टुरेन्टमा हस्ताक्षर संकलन कार्यक्रम राखिएको थियो ।
आज कलाकारहरूलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफै सक्रिय रहेको स्रोतले जनाएको छ ।
उनी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष समेत हुन् । हस्ताक्षरपछि प्रतिक्रिया दिंदै अधिकांश कलाकारहरूले रवि लामिछानेको मुद्दामा अदालतबाट निष्पक्ष न्याय सम्पादन होस् भन्ने आफूहरूले चाहेको बताएका छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा कारागारमा रहेका लामिछानेले गत असार ७ गते २० पृष्ठको अपिल जारी गर्दै हस्ताक्षर सन्कलन अभियानको घोषणा गरेका थिए ।
त्यसअनुरूप उनको पार्टीले हस्ताक्षर अभियान जारी राखेको छ ।