Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै एक ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् । उनले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए ।

बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्वीर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो ।

खड्काले ड्युटीकै क्रममा रास्वपाको अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए । प्रहरी ऐन २०१२ ले प्रहरी कर्मचारीलाई राजनीतिक तथा व्यापारिक गतिविधिमा सहभागी हुने छूट दिएको छैन ।