Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एमालेमा संकट बढ्दैछ, भविष्यबारे यसै भन्न सकिँदैन: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल नेकपा एमालेमा संकट बढ्दै गएको भन्दै त्यसको परिणाम यसै भन्न नसकिने टिप्पणी गरेका छन्। आज (शुक्रबार) काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले एमाले पार्टीभित्र अन्तरविरोध बढ्दै गएको र त्यसको भविष्य के हुन्छ भन्नेबारे सजिलै भन्न सकिने अवस्थामा नरहेको बताए।

‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ। अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन,’ अध्यक्ष नेपालले भने । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने प्रवृत्तिलाई परास्त गर्नैपर्ने अध्यक्ष नेपालको भनाइ थियो।

‘कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिणवादी प्रवृत्ति बोक्ने जुनसुकै प्रवृत्ति बोकेका छन् भने त्यसलाई परास्त गर्नैपर्छ,’ अध्यक्ष नेपालले भने । उनले देशको राजनीतिक अवस्थालाई वर्तमान सरकारले राम्रोसँग हाँक्न नसकेको पनि बताए।

‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन। सही नीति अवलम्बन गर्न सकेको छैन,’ उनले भने। वर्तमान सरकारलाई आफूहरूले साथ दिने कुरा नहुने हुँदा यसको पतन अनिवार्य भएको जिकिर गरे। ‘यस्तो सरकारलाई हामीले साथ दिने कुरै हुँदैन। यसको पतन अनिवार्य छ । खाली हामी पर्खनु पर्ने हुन्छ। आत्तिनु पर्ने अवस्था छैन,’ अध्यक्ष नेपालले भने, ‘हामी देशैभर अधिवेशन गरिरहेका छौं। एक–दुई वटा प्रदेशमा मात्रै बाँकी छ।’