Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेकोबारे स्पष्ट हुन निवेदन दिन आएकी हुँ: रामकुमारी झाँक्री

‘मेराविरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत रुपमा लडाइँ लड्छु’

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताइन् ।

अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूलो केही नेताहरुले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनको भनाइ छ । बुटवलमा पार्टीसम्वद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए । स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई

नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरुसँग निवेदन लिएर आएको स्पष्ट पारिन् । उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नु भएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरुलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

नेतृ झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर आफ्नो तहको बैठक नभए पनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराइन् । झाँक्रीले आफ्नाविरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्ने चेतावनी दिएकी छन् । अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सोमप्रसाद पाण्डेलगायत नेताहरूले कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसबारे पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नु भएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै । राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु ।’