सत्ता साझेदार नेपाली कांग्रेसले ‘कुलिङ पिरियड’ मा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।
उनले कुलिङ पिरियड राख्नै पर्ने भन्ने आफूहरुको धारणा रहेको र त्यही हिसावले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानबिन हुनुपर्ने बताए । कांग्रेसले छानबिन गरी दोषीउपर कारबाही गर्न पनि माग गरेको छ ।
उनले भने, ‘कुलिङ पिरियड राख्नु पर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरुले दफावार पढ्नु भएन । विश्वासघात भयो । जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरुलाई छानबिनको दायरामा ल्याउनु पर्छ । तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’