Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कुलिङ पिरियड हेरफेरबारे सभापति खतिवडा: ममाथि छानविन होस्

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा ‘कुलिङ पिरियड’ बारे भएको हेरफेरमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । आजै कानुन र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई आमन्त्रण गरेको भए पनि नआएको बताए ।

उनले भने, ‘यो संसदमाथिको ठूलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन। त्यसमा हामी छानबिन गर्ने पक्षमा छौँ ।’ उनले छानबिनमा आफू पनि संलग्न भेटिए कारबाही भोग्न तयार रहेको बताए । उनले अब छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए । राजीनामाबारे उनले भने, ‘पहिला छानबिन गरौं न, मेरो दोष देखिए म तयार छु । तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि ।’ 

उनले थपे, ‘म आफैमाथि पनि छानबिन हुनुपर्छ । मेरो दोष देखिए कारबाहीको दायरामा आउन चाहन्छु सभामुखलाई आग्रह गरेका छौँ । छानबिन नभए बैठक बस्दैन भन्ने जानकारी गरियो ।’