Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। 

माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताए । सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसमा जानाजानी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पनि संलग्न भएर कीर्ते जालसाजी भएको बताए।

उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’ 

समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन्। सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनु पर्ने भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने उनले बताएका छन्।