Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

धनगढी जलमग्न: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चार जना र धनगढीको बेली गाउँका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

सूचना अधिकारी जोशीले गए राति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झण्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।