Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेकपा एस निकट अनेरास्ववियूमा समानान्तर कमिटी: नरेश न्यौपाने अध्यक्ष, प्रकाश श्रेष्ठ महासचिव (सूचीसहित)

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा भएको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठसँग असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको हो ।

असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । समानान्तर कमिटीको बैठकले संसद विघटनलगायतका घोर प्रतिगामी षड्यन्त्रविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै विद्रोहको नेतृत्व गरेको मातृ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि सरकारले साँधेको प्रतिशोध र षड्यन्त्रविरुद्ध एकताबद्ध रुपमा प्रतिरोध एवं प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

आउँदो असार २१ गते बस्ने पदाधिकारी बैठकबाट सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिने, पहिलो पदाधिकारी बैठकबाट केन्द्रीय कमिटीको एक तिहाइ हुने गरी केन्द्रीय सचिवालय गठन गरिने र केन्द्रीय कमिटीको बैठक साउन पहिलो हप्ता काठमाडौंमा आयोजना गरिने निर्णयसहितको सकुर्लर पठाइएको छ ।

प्रदेश, जिल्ला, क्याम्पस कमिटी तथा राष्ट्रिय कमिटीका सम्मेलनहरु आगामी साउन १५ गतेभित्र सम्पन्न गर्ने, अनेरास्ववियूको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्ने, तर महाधिवेशनको मिति तथा संगठनमा उमेर हदसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिने पनि निर्णय गरेको सर्कुलरमा उल्लेख छ।