Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विकाशिल देशले आफ्ना प्रतिबद्धताहरु पूरा गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकाशिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिएका हुन् । उनले विकास सहयोग, ऋण दिगोपना र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताए ।

‘तपाईंहरु यस सम्मेलनका सहभागी मात्रै होइन, परिवर्तनका लागि उत्प्रेरक र सशक्त आवाज पनि हो । तपाईंहरुको वकालत र आवाजले देखिने प्रकारको परिणामका लागि योगदान दिन सक्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको छ । यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको म प्रशंसा गर्दछु ।’

नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने बताउँदै उनले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन आह्वान गरे । स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटो समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवद्र्धन र परिचालन एवं विकासका लागि स्रोतहरुको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताए । नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ ले स्वीकार गर्नेछ ।

प्रधानमन्त्री स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।

सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन् । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भइसकेको छ ।