Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कर्मचारीको संख्या घटाउनुपर्छ, सुविधा बढाउनुपर्छ: चन्द्र भण्डारी

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अहिले कर्मचारीहरूलाई राज्यले दिएको सुविधा पर्याप्त नरहेको बताएका छन् । अहिलेको सुविधाले कर्मचारीले बालबच्चा पढाउन नसक्ने उनले बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय निजामती विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद भण्डारीले कर्मचारीको संख्या घटाएर सुविधा बढाउनु पर्ने बताएका हुन् ।

‘डिल्लीराज खनाल आयोगले दिएको प्रतिवेदनका आधारमा कर्मचारीको संख्या घटाउनु पर्छ र सुविधा बढाउनु पर्छ । यो सुविधाको आधारमा कर्मचारीले काम गर्न सक्दैनन्, आफ्नो बच्चा पढाउन सक्दैनन्,’ भण्डारीले भने, ‘संख्या बढाउने बाटोमा गएका छौं, यसले राम्रो गर्दैन ।’

भण्डारीले पारित भएको संघीय निजामती विधेयकले कर्मचारीले पाइरहेको दोहोरो सुविधा अन्त्य गर्ने विश्वास व्यक्त गरे। कुलिङ पिरियडमार्फत विधेयकले कर्मचारीको अहमतालाई तोड्ने काम गरेको पनि भण्डारीले बताए ।