प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि हुने आफ्नो स्पेन भ्रमण बारे प्रतिनिधि सभामा जानकारी गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका स्पेन जान लागेको जानकारी दिएका हुन् ।
स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको 'विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन' मा सहभागी हुने बताएका छन् । स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता रहने गर्दछ ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै स्पेनको राजधानी म्याड्रिड जाने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधिसहित परराष्ट्रमन्त्रालयका सचिव, सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारीसहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव रहेका छन् । त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक कर्मचारी पनि भ्रमण दलमा रहेको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
यस्तो छ प्रधानमन्त्रीको स्पेन भ्रमणको कार्यक्रम:
- प्रधानमन्त्री ओली असार १५ गते दिउसो स्पेनको सेभियामा पुग्नेछन् ।
- असार १५ गते प्रधानमन्त्री ओलीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ ।
- प्रधानमन्त्री ओलीले असार १५ गते स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक हुने छ ।
- प्रधानमन्त्री ओली असार १५ गते स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोजमा सहभागी हुने छन् ।
- प्रधानमन्त्री ओली असार १६ गते बिहान विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सहभागिता हुनेछन् ।
- असर १६ गते अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा संबोधन गर्ने छन् ।
- असार १६ गते दिउसो १ बजे मित्र राष्ट्र स्तोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।
- असार १६ गते दिउसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने छन् ।
- असार १६ गते अपरान्ह ४ बजे पछि इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग र संयुक्त राष्ट्रसंघ महासचिव महामहिम एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने छन् ।
- असार १६ गते स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।
-असार असार १७ बिहान अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने कार्यक्रम रहेको छ ।
- असार १७ गते स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्ने छन् ।
- असार १७ गते नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने छन् ।
- असार १७ गते नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन गर्ने छन् ।
- असार १७ गते थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन गर्ने कार्यक्रम छ ।
- असार १७ गते स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्री भोजमा सहभागि हुने कार्यक्रम रहेको छ ।
- असार १८ गते सेभियाबाट म्याड्रिड फर्किने कार्यक्रम रहेको छ ।
- असार १८ गते नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा प्रतिष्ठित व्यावसायिहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
- असार १९ गते स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ ।
- असार १९ गते अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ ।
- असार १९ गते राती १०:४५ बजे नेपाल फर्किने क्रममा दोहाको लागि प्रस्थान हुने र असार २० गते दिउसो ४:४५ बजे काठमाडौंमा अवतरण गर्ने कार्य तालिका रहेको छ ।