मकवानपुरमा हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार बेलुका परेको चट्याङ लागेर ६ वर्षीया बालिका एनिका चेपाङको मृत्यु भएको हो । उनकी आमा २५ वर्षीया रविना चेपाङ घाइते भएकी छिन् ।
रविनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेको अवस्थामा एनिका र रविना चट्याङ लागेर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि राति नै मनहरीस्थित अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा एनिकाको मृत्यु भएको थियो ।
रविनालाई थप उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको इप्रका मनहरीका प्रहरी निरीक्षक विशाल सापाकोटाले बताए । यसैगरी राक्सिराङ गाउँपालिकाको चोराङमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको स्थानीय हरी चेपाङले बताए । मकवानपुरमा चालु आवको ११ महिनामा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने यही अवधिमा २२ जना घाइते भएका छन् ।