Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एमालेमा ओलीलाई चिढाउने अभियान- मदनको नीति, विद्याको नेतृत्व !

पूर्व राष्ट्रपति विद्या भण्डारी शनिबार मदन भण्डारी जयन्तीको अवसर पारेर राजनीतिमा सक्रिय हुने तयारीले एमाले वृतमा तरंग ल्याएको छ ।

शनिबार राष्ट्रिय सभा गृहमा ७४औं मदन जयन्तीको अवसरमा आयोजना हुने मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख आतिथि रहेका छन् भने पूर्व राष्ट्रपति भण्डारीले विशेष अतिथि रहेकी छन् । कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले एमालेको सक्रिय राजनीतिमा कमब्याक गर्ने बताइएको छ ।

विद्याको कमब्याकलाई एमालेमा उनका समर्थकले ‘मदनको नीति, विद्याको नेतृत्व’ नामक पोष्टर र नारा बनाएर सामाजिक सञ्जालमा प्रचार शुरु गरेका छन् । यस अभियानले अझै एक कार्यकाल अध्यक्ष बन्ने दाऊमा रहेका ओली भने चिढिने निश्चित रहेको छ । पार्टीमा आफ्ना कट्टर विरोधी रहेका माधव नेपालसहितले पार्टी विभाजन गरेर गएपछि एक्लो विरोधी रहेका भीम रावललाई समेत कार्यवाही गरेपछि निर्विकल्प बनेका ओलीलाई विद्याको यो अभियानले चुनौती दिने रुपमा बुझिएको छ । 

Bidhya1751030746.jpg

पछिल्ला केहि महिनादेखि भण्डारी राजनीतिमा सक्रिय हुने चर्चा एमाले वृतमा रहेको थियो । अहिले एमालेमा ओली निर्विकल्प नेता रहेकोमा अब विद्याले उनलाई टक्कर दिने एमालेजनको बुझाइ रहेको छ ।

विद्याको पुनरागमनलाई ओली र उनी पक्षका नेताहरुले मन नपराएको र विद्यालाई रोक्न ओली पक्षले अनेकौं प्रयास समेत गरिरहेको सामाजिक सञ्जाल र मिडियामा चर्चा चलेको छ । सार्बजनिक कार्यक्रममै ओलीले विद्याको नाम नलिएर गुट बनाएको आरोप लगाउदै आएका छन् । यसैकारणले पछिल्लो समयमा जिल्ला अधिवेशन र भातृ संगठनका महाधिवेसनमा सर्वसम्मत नेतृत्व चयनलाई जोड दिदै आएका छन् ।

यस कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर निस्केपछि भण्डारीले सम्बोधन गर्ने बताइएको छ । ओली शनिबारै स्पेन भ्रमणमा जान लागेकाले उनी सम्बोधन गरेर बाहिरिने भएका छन् । यद्यपी यस कार्यक्रममा ओली सहभागी नहुने सम्भावना रहेको चर्चा समेत छ ।