एसइईको नतिजामा उल्लेख्य सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले शुक्रबार सार्बजनिक गरेको नतिजा अनुसार यस बर्ष ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जबकी गत बर्ष ४७.८६ प्रतिशत मात्र ग्रेडेड भएका थिए ।
गत बर्ष ५२.१४ प्रतिशतले ननग्रेड ल्याएपछि शिक्षा क्षेत्र तरंगित बनेको थियो भने सरकारले विशेष निर्णय गरेर सबैलाई मौका परिक्षा दिने व्यवस्था समेत गरेको थियो ।
यस बर्ष भने ३८.१९ प्रतिशतको ननग्रेड आएको छ । जुन संख्यामा एक लाख ६७ हजार ५९७ रहेको छ । गत बर्ष ननग्रेड आउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको थियो ।
यस पटक जीपिएमा पनि सुधार देखिएको छ । यस पटक ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेको छ भने गत बर्ष यो संख्या ३१ हजार २०९ रहेको थियो । त्यस्तै यस बर्ष ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ भने गत बर्ष यो संख्या ६८ हजार २५६ रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एसईईको नतिजामा सुधार भएकोमा खुशी व्यक्त गरेका छन् । ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको उल्लेख गर्दै गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेकोमा यस बर्ष नतिजामा सुधार आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ । सबै भाइबहिनीहरूलाई बधाई !'