Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ओलीले भङ्ग गर्न खोजेपछि संसद खोल्न तयार भएँ, साथीहरु नबुझेर मैमाथि हमला गर्छन् : प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणमा अवरुद्ध गरिरहेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिन पार्टी कसरी तयार भयो भन्नेबारे स्पष्टीकरण दिएका छन्।  अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।

‘सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ, हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख छ । पटक्कै नबुझेर खत्तम गर्‍यो भनेको जस्तो गर्छन्,’ उनले भने, ‘अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, बजेट होस् वा अन्य विधेयकको कुरा । अध्यादेशबाट ल्याउन चाहेको बुझियो हामीले ।’ 

उनले सत्तामा भएकाहरूबीचको कुराकानी र दरी नबुझ्नेहरूले आफूमाथि नै घेराबन्दी गर्न लागिपरेको आरोप पनि लगाएका छन् । ‘सत्तामा भएकाहरूको बीचमा जति दरी छ, के हो भन्ने पनि हामीले बुझ्नु पर्नेछ । त्यही अनुसार चाँडै परिणाम आउँदैछ,’ उनले थप भने, ‘एकथरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेका छन् ।’

प्रचण्डले दुई–दुई पटक संसद् विघटन गर्ने ओलीविरुद्ध तीन पटक सडकमा उत्रिनुपरेको सुनाउँदै भने, ‘कहिले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ । अहिले पनि हामीले धेरै मेहनत गरेर संघीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्नेछ ।’