Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन् । उनीहरूको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन्।

बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का विद्यार्थी हुन् ।

आफ्ना छोरीहरू बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । आफन्तले खबर गरेसँगै बालिकाहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताए । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ ।