Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वैद्य निवासमा बर्षमान

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार आएको छ । लामो समयदेखि दमको समस्याबाट पीडित रहेका उनी छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। १० दिनसम्म आइसीयुमा बसेर उपचार गरेका ७९ वर्षीय नेता बैद्य स्वास्थ्यमा सुधार भएपछि घरमा बसैर स्वास्थ्य लाभ गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व सभामुख ओनसरी घर्तीले बिहीबार किरणलाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् । टोखा हाइटस्थित वैद्य निवास पुगेर स्वास्थ्य अवस्थाबारे उनीहरुले जानकारी लिएका हुन् ।

नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखिएको छ । ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनु पर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान बेलुका हल्का हिंड्न पनि थालेको छु भन्नु हुन्थ्यो ।’ पुन दम्पत्ति आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरुबीच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे ।

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन सोही कमाण्डको दोश्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए । ०६१ सालमा पुन दम्पत्तिको दोश्रो सन्तानका रुपमा छोरा जन्मिँदा उनीहरु सँगै थिए । ‘हाम्रो बीचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ । हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो । करिब ६ महिना सुष्मा भाउजु (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो । हामीले ती कुराहरु पनि सम्झियौं ।’