Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

निजी विद्यालयले राज्यलाई निःशुल्क सहयोग गरिरहेको छ : कांग्रेस

सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले निजी विद्यालयहरुले निःशुल्क रुपमा राज्यको भार बोकिदिएका बताएका छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा घिमिरेले भने, ‘कुल विद्यार्थी संख्याको एक तिहाइ विद्यार्थी निजी क्षेत्रले भार बोकिदिएको छ निःशुल्क रुपमा। अहिले भइरहेकै शिक्षकहरु धान्न, त्यसको खर्च धान्न, हामीलाई गाह्रो परेको छ ।’

विगतमा कानुनअनुसार दर्ता गरेर निजी विद्यालय संचालन गर्न दिएको उल्लेख गर्दै घिमिरेले अहिले बन्द गरे मुलुकले आफ्नो विश्वसनीयता गुमाउने बताए । ‘हिजो हामीले कम्पनी ऐनअनुसार दर्ता गर्न दियौँ। दर्ता गर भन्यौँ, दर्ता गरेर निजी लगानी गरेर खोलेको चिजलाई अहिले यसरी एउटा लोकतान्त्रिक मुलुकले बन्द गर्दै हिँड्नु आफ्नो विश्वसनीयता पनि गुमाउनु हुन्छ भन्ने मलाइ लाग्छ,’ उनले भने।

निषेधको साटो निजी विद्यालयहरुमा प्रभावकारी नियमन गर्नुपर्ने उनले प्रष्ट पारे। अन्यथा राज्यले नै सिन्डिकेट गरेको अपजस बोक्नुपर्नेतर्फ पनि उनले सचेत गराए । ‘निषेध गर्ने काम चाहीँ हामीले गर्न हुँदैन,’ उनले भने, ‘पूरानालाई चल्न दिने, नयाँलाई चाहिँ खोल्न नदिने गर्‍यौं भने राज्यले नै सिन्डिकेट गरेको अपजस पनि हामीले बोक्नु पर्छ ।’ उनले निजी विद्यालयले राज्यलाई निःशुल्क सहयोग गरिरहेको समेत बताए ।