Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेविसंघको विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न माग

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विदेशी सम्बन्धनका नाममा नेपालमा खोलिएका कलेजको छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

नेविसंघले विदेशी कलेजको नाममा स्तरहीन र शंकास्पद संस्थाहरूलाई नियमन र अनुगमनबिना शैक्षिक बजार सुम्पिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

संघका शैक्षिक सुधारका निम्ति बृहत संघर्ष समितिका संयोजक, नेपाल विद्यार्थी संघका प्रभावशाली केन्द्रीय सदस्य भूपेन्द्र सिंह थेबेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा एकातिर देशका गौरवशाली विश्वविद्यालयलाई स्रोत, साधन र अधिकारविहीन बनाइएको तर अर्कोतिर विदेशी कलेजहरूले मनलाग्दी विद्यार्थी भर्ना गर्ने र मनपरी शुल्कका नाममा असुल्दा पनि सरकार मौन बसेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

नेविसंघले राखेका माग:

१. विदेशी सम्बन्धनका नाममा खुलेका सम्पूर्ण कलेजहरूको वैधानिकता, आर्थिक कारोबार र शैक्षिक गुणस्तरमाथि छानबिन गर्न तत्काल एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस् ।

२. अन्तर्राष्ट्रिय स्तरमा शंकास्पद र वरीयतामा नपरेका विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजलाई तत्काल कालोसूचीमा राखी सम्बन्धन खारेज गरियोस् ।

३. हाल सञ्चालनमा रहेका सबै कलेजका लागि स्वदेशी विश्वविद्यालयसरह विद्यार्थी भर्ना कोटा, शुल्कको वैज्ञानिक मापदण्ड र पाठ्यक्रमको नियमित अनुगमन गर्ने बाध्यकारी कानुनी व्यवस्था तुरुन्त लागू गरियोस् ।

४. यो शैक्षिक अराजकता निम्त्याउन जिम्मेवार मन्त्रालयका कर्मचारीलाई कारबाहीको दायरामा ल्याइयोस् ।

५. यस्ता कलेज सञ्चालन गरिरहेका सञ्चालकहरूको व्यक्तिगत र संस्थागत कारोबारलाई राज्यले तत्काल अनुसन्धानको दायरामा ल्याइयोस् ।

नेविसंघले ध्यानाकर्षण पत्र बुझाउदै आफूहरुका मागलाई बेवास्ता गरेमा देशैभरका विद्यार्थी र अभिभावकहरूलाई साथमा लिएर सडक संघर्षसम्मका कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।