Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

माधव नेपालको पक्षमा सय बढी वकिल

पतञ्जलीको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न नाम टिपाउने कानुन व्यवसायीको संख्या १२० पुगेको छ । आज (बुधबार) विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित १२० जनाले नाम टिपाएका हुन् । नाम टिपाउनेको संख्या अझै थपिँदै छ ।

तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । पूर्व प्रधानमन्त्री नेपालको तर्फबाट बहस गर्ने भनी ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेका हुुन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्व प्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् ।

वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन् । यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् । वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् ।

सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै बहस गर्न पाउने छन् । बहसपछि थुनछेक आदेश हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।