Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सरकारले भिजिट भिसा र अध्यागमनमा सुनपानी छर्कने समिति बनायो : रास्वपा

‘शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्वर्णिम वाग्लेले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले बनाएको उच्चस्तरीय समिति ‘सुनपानी छर्कने’ समिति मात्र भएको बताएका छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा सांसद वाग्लेले यो अलोकप्रिय सरकारले यस्तै निर्णय गर्ला भन्ने आफूहरुलाई पूर्वाभास भएको बताएका छन् । भिजिट भिसा प्रकरण गम्भीर कुशासन, संगठित भ्रष्टाचार र मानव तस्करीका रुपमा रहेको उनको भनाइ थियो ।

समितिका संयोजक शंकरदास वैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र भएको उनले आरोप लगाएका छन् । ‘उहाँ अहिलेका नेताहरुबाट निगाहाप्राप्त स्वार्थप्रेरित व्यक्ति हो । उहाँ स्वयं सक्षम निकायको राडारमा भएका व्यक्ति भएपछि कसको छानबिन गर्ने ?’ वाग्लेले प्रश्न गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको पनि उनले बताए । मेरो प्रस्तावमा छानबिन समिति बनेको भन्ने गृहमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै उनले भने, ‘हामी नयाँ हौं तर बेवकूफ होइनौं ।’