राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्वर्णिम वाग्लेले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले बनाएको उच्चस्तरीय समिति ‘सुनपानी छर्कने’ समिति मात्र भएको बताएका छन् ।
प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा सांसद वाग्लेले यो अलोकप्रिय सरकारले यस्तै निर्णय गर्ला भन्ने आफूहरुलाई पूर्वाभास भएको बताएका छन् । भिजिट भिसा प्रकरण गम्भीर कुशासन, संगठित भ्रष्टाचार र मानव तस्करीका रुपमा रहेको उनको भनाइ थियो ।
समितिका संयोजक शंकरदास वैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र भएको उनले आरोप लगाएका छन् । ‘उहाँ अहिलेका नेताहरुबाट निगाहाप्राप्त स्वार्थप्रेरित व्यक्ति हो । उहाँ स्वयं सक्षम निकायको राडारमा भएका व्यक्ति भएपछि कसको छानबिन गर्ने ?’ वाग्लेले प्रश्न गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको पनि उनले बताए । मेरो प्रस्तावमा छानबिन समिति बनेको भन्ने गृहमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै उनले भने, ‘हामी नयाँ हौं तर बेवकूफ होइनौं ।’